Friday 8 November 2013

नयाँखाले चुनावी अभियान 'भोट कसलाई ? नेतृलाई' अभियान सुरु


काठमाडौं, कार्तिक २३ - महिला उम्मेदवारलाई भोट दिन आह्वान गर्दै युवा, महिला र अधिकारकर्मीले अभियान सुरु गरेका छन् ।
मुलुकभरबाट उठेका ६ सय ६७ महिला उम्मेदवारलाई जिताउन अभियान थालिएको हो । जसको मुख्य नारा 'भोट कसलाई ? नेतृलाई' भन्ने छ । अभियानअन्तर्गत मुलुकभरका मतदातालाई महिलालाई भोट हाल्न अनुरोध गरिएको छ ।
'राजनीतिक दलले प्रत्यक्षतर्फ १० प्रतिशत मात्र महिलालाई उम्मेदवारी दिएको र पाएकालाई पनि कडा चुनौती भएकाले जिताउने गरी सहयोग गरिरहेका हौं,' अभियन्ता कला राईले भनिन्, 'अघिल्लो संविधानसभामा महिलाले पाएको ३३ प्रतिशत सहभागिताको अधिकार गुम्न नदिन दबाब सुरु गरेका हौं ।' तर दल विशेषलाई भोट दिने/नदिनेबारे अभियानको चासो नभएको उनको भनाइ छ । मुलुकभरका महिला उम्मेदवारलाई प्रचारप्रसार र चुनावी गतिविधिमा आवश्यक सामग्रीसमेत अभियानले सहयोग गर्नेछ । माइक, पर्चा, पम्प्लेटलगायत सहयोग गरिरहेको राईले जानकारी दिइन् ।
अभियानले ललितपुर, भक्तपुर र काठमाडौंका १ सय १ महिला उम्मेदवारलाई आइतबार टुँडिखेलमा भेला हुन आह्वान गरेको छ । उपत्यकाभित्रका महिला उम्मेदवारले आफ्नो उम्मेदारीबारे सम्बोधन गर्ने अभियानले जनाएको छ । महिला अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था र अधिकारकर्मीले पनि महिलालाई जिताउन विभिन्न सञ्चारमाध्यममार्फत विज्ञापन गरिरहेका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा १२ प्रतिशत महिला प्रत्यक्षबाट निर्वाचित भएका थिए ।

No comments:

Post a Comment